Posts

Showing posts from September, 2014

वाचाहरू त्यहाँ हुन्नन्

आँसु र सुस्केराका वाचाहरू त्यहाँ हुन्नन् हाँसो र खुशीका कसमहरू त्यहाँ हुन्नन् माया र विश्वासमा कहिल्यै वाचा बाँधिन्नन् साक्षी चाहिन्न् त्यहाँ किरिया खाइन्न् लाग्दछ माया त्यो लाएर कहाँ लाइने हो र खोसेर पाइन्न त्यो न त माग्दैमा नै दिइन्छ समय बदलिदैमा बदलिने त्यो होइन जीवनको परिधि भित्र सीमित त्यो छैन सम्झाउन सकिन्न केहि परिभाषा दिएर प्रीतिको छैन यहाँ खोजेर उपमा कुनै देखाउन सकिदैन केहि प्रमाण दिएर त्यसको छँदै छैन पाईन्न त्यहाँ आकृति कुनै। २०३३/1976 साभार: चाँदनी शाहका कविता प्रकाशक: श्री ५ को सरकार, सञ्चार मन्त्रालय, सुचना विभाग, २०४३ कात्तिक २२ मुद्रक: श्री ५ को सरकारको छापाखाना, सिंहदरबार, काठमान्डौँ, नेपाल

जहाँ जहाँ जान्छौ

उकाली अोह्रालीहरूमा भन्ज्याङ अनि चौतारीहरूमा सुन्दर ती दहहरूमा हिमालका विशाल छातीहरूमा जहाँ जहाँ जान्छौ तिमी म पाइला बनी पछ्याइरहन्छु ती छहरा खोला खहरेहरूमा सम्झना बनी बगिरहन्छु तराईका हरिया फाँटमा पहाडका तरेलीहरूमा हिमालका सुन्दर अनि विकट ती बस्ती बस्तीहरूमा जहाँ जहाँ जान्छौ तिमी म बाटो बनी साथै आइरहन्छु ती सुस्केरा थकाइ सुसेलीहरूमा गीत बनी गुन्जिरहन्छु मुटु कमाउने जाडोहरूमा कपाल  दु:ख्ने गर्मीहरूमा मन हर्ने सुन्दर दृश्य शान्त शीतल वातावरणमा जहाँ जहाँ जान्छौ तिमी म आकाश बनी देखिरहन्छु ती लेक बेसी अनि पाखाहरूमा पवन बनी भेटिरहन्छु २०३५/1978 साभार: चाँदनी शाहका कविता प्रकाशक: श्री ५ को सरकार, सञ्चार मन्त्रालय, सुचना विभाग, २०४३ कात्तिक २२ मुद्रक: श्री ५ को सरकारको छापाखाना, सिंहदरबार, काठमान्डौँ, नेपाल