Posts

Showing posts from December, 2017

के गर्नु?

गर्नु काण्ड गरिसकेँ, कुरा अब, गरेर के गर्नु मनको बाँध फुटिसक्यो, खोला अब, तरेर के गर्नु फाल्नु इज्जत फाली सकेँ अलिकति लोभमा गाउँभरी हल्ला भो, बसाइँ अब, सरेर के गर्नु  लोभी अाफ्नै मन थियो रहर कहिल्यै पुगेन पापको कमाइमा, भकारी अब, भरेर के गर्नु धेरैको सराप लाग्ला भनी मनमा अलि डर लाग्छ नर्कबाट बच्न पुण्यको, बिउ अब, छरेर के गर्नु अमर कोही छैनन् यहाँ, मर्नुपर्छ एकदिन सबले बाचुन्जेल त यस्तो, हाल अब, मरेर के गर्नु गर्नु काण्ड गरिसकेँ, कुरा अब, गरेर के गर्नु मनको बाँध फुटिसक्यो, खोला अब, तरेर के गर्नु

बुझ्नेलाई माया

बुझ्नेलाई माया, गहिरो थियो नबुझ्नेलाई लाटो अनि, बहिरो थियो खुल्ला अाकासमा उड्न चाहे, उनी सँगसँगै उता पट्टी अाकासमा, बादल अनि, कुहिरो थियो तिमी पारी, वारी म, भेट हुने कैले कैले चिसो पस्यो मन भित्र, बाहिर शित अनि, तुहिरो थियो खोला पारी भेट्न अाउँछु, भन्दा भन्दै वर्ष बित्यो यो साल'नी खोलामा, बाडी अनी, पहिरो थियो बुझ्नेलाई माया, गहिरो थियो नबुझ्नेलाई लाटो अनि, बहिरो थियो

जानिएन

जिन्दगीमा बस यही एउटा काम गर्न जानिएन मन कालो मुख उज्यालो राख्न जानिएन । जस्तो थिएँ छर्लङ्ग थिएँ खुला किताब सरी मुखमा हाँसो मनमा जालो राख्न जानिएन । जो थिए वरिपरि सबै थिए अाफ्ना मुखमा राम-राम बगलीमा छुरा राख्न जानिएन । सादा मन सादा जिवन बाँच्दै गए यसै गरी छेपारो झैँ घरीघरी रङ्ग साट्न जानिएन । हाँसी खुशी सबैसँग रमाएर जिउनु थियो छुरा समाई हातमा अरूको मन काट्न जानिएन ।

रेपिस्ट

तिम्रो सभ्य समाजमा मेरो असभ्य शब्दहरू बोल्दा पनि पोल्ला भनी अाफ्नै मनभित्रको अन्धकार कुनामा कतै अर्धनग्न पारी जबरजस्ती करणी गर्दैछु अाफ्नै अात्मालाई रिमोटको इसारामा र रोबोट जसरी भनिएको / तोकिएको ठ्याक्क ठ्याक्क गर्नुपर्ने तिनै ठूला रितिरिवाज, नियमकानुनको अघि झुकिरहेको बेवारिसे र बिवस अाफ्नै मनभित्रको अन्धकार कुनामा कतै थिचीमिची मरासन्नावस्थामा जबरजस्ती करणी गर्दैछु अाफ्नै स्वभावलाई जिउन जान्ने मानिसहरूको सभ्य समाज र स्वभाव बिच जे गरेनी गलत र असभ्य मान्नेहरूको चोकको बिचैमा सभ्यताको अाँखै अगाडी जबरजस्ती करणी गर्दैछु अाफ्नै इच्छाहरूलाई